पतंजली योगपिठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्ने भएको छ । पतंजली योगपिठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराउनु भएको हो । बुधबार मण्डिखाटारस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमा आयुर्वेद तथा योगसम्बन्धि अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भईसकेको पनि स्पष्ट पार्नु भयो । त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्र्पोटस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ । प्रतिभाशाली बालबालिकाहरुलाई अघि बढाउन नेपालमा स्र्पोटस् विद्यालय स्थापना गर्ने सोच पनि बनाइएको अध्यक्ष बालकृष्णले बताउनु भयो ।नेपाली मूलका आचार्य बालकृष्णले पतंजली योगपिठले नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्थ बनाउन चाहेको पनि बताउनु भयो । उहाँले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दावी पनि गर्नु भयो ।चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतंजली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ । अध्यक्ष बालकृष्णले पतंजली योगपिठको आयूर्वेदका उत्पादनहरु गुणस्तरहिन रहेको स्विकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । 

Comments